TRUST TRUST

बिस हजार सदस्य भएको देशमा जति डेलिगेट दिईएको छ, त्यो नै न्याय संगत छैन – सुनील साह

August 24, 2021

Suneel Sah

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकाबाट स्वच्छ रुपमा आईसिसि प्रतिनिधि छनौट गराउन आफु प्रयत्नशील रहेको विचार ब्यक्त गर्नुभएको छ। पारिवारिक भेटघाटका क्रममा मेरिल्याण्ड आउनु भएका साहले बाल्टिमोरमा स्थानीय एनआरएनए अभियन्ताहरुसंग बोल्दै उक्त विचार ब्यक्त गर्नु भएको हो। कार्यक्रममा मेरिल्याण्डका सामाजिक संघ संस्थाका प्रतिनिधिहरु र एनआरएनएका अभियन्ताहरुको सहभागिता थियो।

एनआरएनए अमेरिकाको दशौँ साधारण सभा र सपथ ग्रहण कार्यक्रम हुनुभन्दा एक हप्ता अगाडी अमेरिकाबाट डेलिगेट छनौटका बिषयमा व्यापक मत मतान्तर भईरहेको छ। आफ्नो कार्यकाल समाप्त हुनुभन्दा एक हप्ता अगाडी अध्यक्ष साहले तय गर्नुभएको पूर्वी राज्यहरुको भ्रमणलाई धेरैले शंका र चासोका रुपमा लिएका छन्। यहि बिषयमा प्रष्ट पार्दै मेरिल्यान्डको उक्त कार्यक्रममा साहले “२० हजारभन्दा धेरै सदस्य भएको देशमा जति डेलिगेट हुने भनेर भनिएको त्यो नै न्याय संगत छैन।” उहाँले च्याप्टरहरुको पनि आईसीसीमा प्रतिनिधित्व हुनुपर्छ भन्नेमा आफु पहिलेदेखि लडेको बताउनु भयो।

भर्खर सम्पन्न निर्वाचनका बिषयमा साहले भन्नुभयो, “निर्वाचन सधै विवादास्पद हुन्छ। तर चुनावपछि विजयी नेताले पराजित साथीहरुलाई समेटेर जान सक्नु पर्छ भन्ने मेरो मुख्य धारणा हो। मैले सबै पराजित साथीहरुलाई संगै लिएर गएको थिएँ।”

“निर्वाचन प्रक्रियाका बारेमा पनि त्यही हो।” साहले भन्नुभयो, “पहिला इमेलमा कोड आउथ्यो। अहिले फोनमा जाने व्यवस्था गरौँ भन्ने भयो त्यो पनि गर्यौं। फेरी पनि धाँधली भएको कुरा आएको छ। फेस रिडिंगको बिधि अपनाउने भनेर फेरी कुरा आएको छ, हामी त्यसतर्फ सकारात्मक छौं।”


एनआरएनएका बारेमा आउने हरेक सकारात्मक र नकारात्मक कुराबाट संस्थालाई फाईदा हुने बताउदै साहले समय अनुसार परिबर्तन नभएको भए हामीलाई गाली गर्नुहोस तर हामी परिबर्तन भएर अगाडी बढेका छौं, त्यसैले साथ दिनुहोस, भन्नुभयो । “एनआरएनएले मेम्बरका गुनासा सुनेको छ र त्यस अनुसार सुधार पनि गरेको छ। अझै सुन्दै जानेछ।” साहले भन्नुभयो।

“यो कार्यसमितिले धेरै अफ्टेरो समयको सामना गर्नु पर्यो त्यसलाई हामीले अवसरका रुपमा लियौं र सक्रिय भयौं। यो कार्यसमिति विवाद बढाउने होइन समस्याको समाधान गर्ने दिशामा सधै सक्रिय रह्यो” साहले भन्नुभयो।

आईसीसीमा साहको यात्रा के हो भन्ने बारेमा सहभागीले राखेको जिज्ञासाका बारेमा साहले भन्नुभयो, “म माथि एनआरएनए अमेरिकाका धेरै साथीहरुको ठुलो लगानी छ, म उहाँहरुको निर्देशन र ईच्छा अनुसार यात्रा जारी राख्ने छु। मेरो यात्रा जारी नै छ।” साहले भन्नुभयो। तर साहले आफु आईसीसीको कुन पदमा उठ्ने भनेर सार्बजनिक गर्नु भएन।

साहले मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया लगायतका राज्यहरुको भ्रमणमा हुनुहुन्छ। अर्को हप्ता न्युयोर्कमा हुने कार्यक्रममा साह यतैबाट सहभागी हुन् जाने कार्यक्रम रहेको बुझिएको छ।

Share On

Related News