TRUST TRUST

पदमा रहेर जिम्मेवार पूर्वक नेतृत्वदायी भूमिका खेल्न सक्दछु भन्ने म मा आत्मविश्वास छ : सुनिल साह

September 28, 2021

Suneel-Shah nrntoday

एनआरएनएको उपाध्यक्ष पदमा तपाईको उम्मेद्वारी किन ?
सर्वप्रथम , गैर आवासीय नेपाली संघ एउटा संस्था मात्र नभएर गैर आवासीय नेपाली अभियानको एउटा महत्वपूर्ण हिस्सा हो । गैर आवासीय नेपालीहरुको एकमात्र अन्तराष्ट्रिय सञ्जाल भएको यस संस्थाले गैर आवासीय नेपाली अभियानलाई नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सँगसँगै मातृभुमी नेपाल देखि लिएर विश्वभर जहाँ जहाँ नेपालीहरु हुनुहुन्छ त्यहाँ त्यहाँ परोपकारी कार्यमा पनि संघले महत्वपूर्ण योगदान गर्दै आएको छ । नेपालको आर्थिक समृद्दिमा पनि गैर आवासीय नेपाली संघले कहि न कहि भूमिका खेलिरहेको छ, तसर्थ निश्चय पनि संक्षेपमा भन्नुपर्दा संघको माध्यमवाट नेपालको आर्थिक समृद्दिमा योगदान दिदैं सामाजिक तथा परोपकारी कार्यमा जुट्ने अनि एनआरएन अभियानलाई अझ व्यापक बनाउनका लागि मेरो उपाध्यक्षमा उम्मेद्वारीको तयारी हो । यसो भनिरहँदा एनआरएन अभियानमा लाग्नका लागि पदनै चाहिन्छ भन्ने पनि प्रश्न आउन सक्छ, यो स्वभाविक पनि हो, तर पनि पदमा रहेर जिम्मेवार पूर्वक नेतृत्वदायी भूमिका खेल्न सक्दछु भन्ने म मा आत्मविश्वास छ, त्यहि कारणले गर्दा नै मैले अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी महाधिवेशनमा उपाध्यक्षको निम्ति तयारी गरेको हुँ । संघको राष्ट्रिय समन्वय परिषद्,अमेरिका जो सबैभन्दा ठूलो एनसिसीको रुपमा रहेको छ, त्यसको नेतृत्व गर्दा मैले हासिल गरेको अनुभवले पनि मलाई अगाडि बढ्नका लागि प्रेरणा मिलेको हो ।

एनआरएनएको मुद्दा के के छन् ? तपाईको योजना के छ ?
मैले अघि पनि भने एनआरएनए भनेको केवल संस्था मात्र होइन यो त एउटा एनआरएन अभियानलाई नेतृत्वदायी भूमिका खेल्ने अभियानकै एउटा हिस्सा हो । यसको अर्थ के हो भने संघको मुद्दाहरु भनेको एनआरएनहरुको आवश्यकताका विषयहरु हुन् । जुन उद्देश्यले संघ स्थापना भएको थियो त्यो उद्देश्य अनुरुपनै संघले आफ्ना मुद्दाहरु स्थापित गर्दै आएको छ । समयक्रमसँगै एनआरएनहरुका पनि विभिन्न समस्याहरु बाहिर आउने गरेका हुन्छन्, ती समस्या र आवश्यकताहरुलाई समाधानको निम्ति पहलकदमी गर्ने दायित्व एनआरएनएको हो । त्यसैले एनआरएनएको मुख्य मुद्दाहरुमा एनआरएनहको आवश्यकतामा निर्भर रहेको हुन्छ । कतिपय नितिगत तहवाटै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरुसँगवाट समाधान खोज्नुपर्ने मुद्दाहरु हुन्छन् भने कतिपय आवश्यकताका क्षेत्रहरु एनआरएनहरुविचवाटै पनि समाधान गर्न सकिने हुन्छन् । एनआरएनएले अहिले विशेष रुपमा उठाइरहेको विषय भनेको नागरिकताको निरन्तरता, दोहोरो कर प्रणालीको खारेजी, नेपाली नागरिकताका वाहक गैर आवासीय नेपालीलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, वैदेशिक श्रम वजारमा रहेकाहरुलाई सामाजिक सुरक्षाको व्यवस्था यी यस्ता नितिगत तहवाट समाधान गर्नुपर्ने विषयहरु हुन् यसलाई मुद्दाकै रुपमा विगतदेखिनै एनआरएनए उठाइरहेको छ । अव यसलाई निचोडमा पुर्‍याउनुपर्नेछ, यस बाहेक पनि संघको संस्थागत विकासको पाटोदेखि धेरै विषयहरु छन्, जो आवश्यकतामा निर्भर रहेको हुन्छ । र म के पनि भन्छु भने एनआरएनएको मुद्दाको सवालमा म हाम्रा संस्थापक अध्यक्ष उपेन्द्र महतोले निकै महत्वका साथ राख्दै आउनुभएको विचारलाई सम्झन चाहन्छु, उहाँ भन्नुहुन्छ देश समृद्द नभएसम्म एनआरएनएको अभियान पुरा हुँदैन । यो भनाईले ठूलो अर्थ राखेको छ । मलाई पनि लाग्दछ एनआरएनए अभियानको एउटा मुल मुद्दा भनेको देश समृद्द बनाउने पनि हो । मातृभुमी नेपालले गरिबीलाई परास्त गर्न सक्यो भने देश विकासको आधार त्यसवाट तय हुन्छ र त्यो पवित्र काममा संस्थागत होस्, वा पारिवारिक वा व्यक्तिगत वा भनौ सामुहिक रुपवाट हामी एनआरएनले सक्दो योगदान गर्नु जरुरी छ । फेरि योगदानको कुरा गर्दा केवल आर्थिक(पैसा) मात्र होइन सिप, ज्ञान देखि लिएर हामीले सिकेको अनुभवलाई पनि नेपालको हितमा उपयोग गर्न सक्दा पनि त्यो देश विकासको निम्ति सहयोगी बन्न सक्दछ । यसर्थ केवल मेरो मात्र कुरा होइन व्यक्तिगत ढंगवाट हामी एनआरएनहरुले गर्ने भनेको के गर्दा देशको हितमा काममा गर्न सकिन्छ त्यही गर्ने हो । रह्यो कुरा एनआरएनए संस्थामार्फत त्यसमा म उपाध्यक्षको तयारी गरिरहदा संस्थागत ढंगवाट मैले गर्नुपर्ने कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गर्दछु ।
मैले विश्वभर हावी हुँदै गरेको आप्रवासी प्रतिका अनुदार नितिका सम्बन्धमा होस् वा कोरोना पछि विश्वमा देखिएको वैदेशिक रोजगारीको खस्कदो स्थितिले त्यसवाट नेपालीलाई पार्ने प्रभावलाई कम गर्न अवलम्वन गर्न सकिने वैकल्पिक उपायको खोजी, वैदेशिक श्रम वजारमा रहनुभएका नेपालीको सामाजिक सुरक्षाको सुनिश्चितता देखि लिएर मुख्यत: संस्थाप्रतिको विश्वासलाई अभिवृद्दि गर्नका लागि मैले महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्ने मलाई विश्वास छ ।

एनआरएनए संस्था, धनीहरुको संस्था हो भन्ने आरोप सुनिन्छ, तपाईको यसमा धारणा के छ ? राजनितिले एनआरएनलाई कत्तिको गाजेको छ नि ?
विश्वभर छरिएर रहनुभएका गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा गैर आवासीय नेपाली संघ रहेको छ । यो मात्र एउटा संस्था हो, जसले विश्वभर रहेका हामी गैर आवासीय नेपालीलाई एउटा मालामा जोडेको छ । पक्कैपनि, संस्थाको नेतृत्वमा रहनुभएका व्यक्तिहरुलाई हेरेर वा त्यसलाई आधार बनाएर त्यस्ता खालका टिका टिप्पणी पनि आएका होलान्, यसमा अन्यथा केही भन्नु छैन । मुख्य कुरा संस्था के उद्देश्यले स्थापना भएको हो, संस्थाका सदस्यहरु को हुन्, संस्थाले के गरिरहेको छ यी यस्ता विषयहरुले संस्थालाई जिवन्त राख्दछ । त्यो अर्थमा म के भन्छु भने यो संस्था आम गैर आवासीय नेपालीहरुको साझा संस्था हो । हो पक्कैपनि अझ धेरै गैर आवासीय नेपालीलाई हामीले सदस्य बनाउनुपर्नेछ, उहाँहरुको सहभागिता र एजेण्डालाई समेट्नुपर्ने छ त्यस अर्थमा हामीले काम गर्नुछ । त्यतातर्फ सबै एनआरएनएका अभियन्ताहरु लाग्नुपर्ने भएको छ ।
रह्यो कुरा राजनितिको यसलाई कसरी लिनुपर्छ भने मानिस विचारले निर्देशित प्राणी हो । आ आफ्ना विचारहरु बोक्न मानिस स्वतन्त्र रहन्छन् । त्यसले केवल संस्थाको उद्देश्यलाई आघात गर्न भने भएन त्यस तर्फ भने सबै सचेत रहनुपर्दछ । एनआरएनएले सबै गैर आवासीय नेपालीको प्रतिनिधित्व गर्ने हो हामी सबैको ध्यान त्यता तर्फ रहनुपर्दछ ।

एनआरएनहरुले विदेशमा आर्जन गरेको सिपलाई नेपालसँग जोड्नुपर्छ भन्ने सुनिन्छ, त्यसको व्यवहारिक कार्यन्वयन कस्तो देख्नुभएको छ ?
पक्कै पनि, एनआरएनहरु नेपालको समृद्दि र विकासको सहयात्री हुन चाहन्छन् । सहकार्य गर्न चाहन्छन्, कुनै न कुनै रुपमा त्यो नभएको भने होइन केही भैपनि रहेको छ । र यसलाई संस्थागत ढंगवाट अगाडि बढाउने पहल पनि भएको छ । आर्थिक लगानी मात्र होइन मातृभुमीका लागि ज्ञान, सिपको स्थानान्तरण पनि एउटा ठोस योगदानको रुपमा रहन्छ र रहनुपर्दछ भन्ने मान्यता अनुरुप संघले विश्व ज्ञान सम्मेलनको अवधारणा अगाडि सारेको छ । र भन्नैपर्छ, विश्व ज्ञान सम्मेलन हुनुअघि एनआरएनए अमेरिकाले अमेरिकाज रिजन स्तरको क्षेत्रीय ज्ञान सम्मेलन पनि सम्पन्न गरेर ज्ञान सम्मेलनको सुरुवात गरेको थियो, र त्यो ज्ञान सम्मेलन राष्ट्रिय स्तरमा एनआरएनए अमेरिकाले गर्दै आएको छ । एनआरएनए आइसिसीले पनि ग्लोबल रुपमा ज्ञान सम्मेलन गर्दै आएको छ । सम्मेलनका माध्यमवाट विश्वभर रहनुभएका विभिन्न क्षेत्रका विज्ञहरुलाई एक ठाउमा भेला गरी संघले उहाँहरुको ज्ञान र सिपलाई नेपाल सरकार मार्फत नेपालसँग कनेक्ट गराउने कामको सुरुवात गरिसकेको छ । कतिपय योजनाहरु पनि एनआरएनहरुको लिड गरेर अगाडि बढेको छ भने कतिपय महत्वपूर्ण योजनाहरुमा एनआरएनहरुको सहकार्य भएको छ । विस्तारै ज्ञान र सिपको स्थानान्तरणको प्रक्रिया अघि बढिरहेको छ ।

अन्त्यमा केही ?
सर्बप्रथम, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नेतृत्व गरिरहँदा सबैवाट प्राप्त सहयोगले धेरै भन्दा धेरै कार्यहरु गर्न संघले सफलता प्राप्त गर्‍यो त्यसका निम्ति सबैमा आभार व्यक्त गर्दछु । विश्वभर रहनुभएका एनआरएनहरुको सद्भावले एनआरएनए अमेरिकाले कोरोना १९ को कहरमा पनि उत्कृष्ट काम गर्न सकेको अनुभूमि मैले गरेको छ । राष्ट्रिय समन्वय परिषद्को नेतृत्व गरिरहँदा प्राप्त अनुभव, उर्जा, काम गर्नुपर्ने क्षेत्रको पहिचानको जगमा टेकेर अन्तराष्ट्रिय समन्वय परिषद् मार्फत विश्वव्यापी संजालमार्फत एनआरएनए अभियानमा अझ प्रभावकारी काम गर्न सक्छु भनी अन्तराष्ट्रिय परिषद्मा उपाध्यक्ष पदको उम्मेद्वार बन्ने तयारी गरेको छु । आशा छ सबै एनआरएनहरुवाट सहयोग प्राप्त हुनेछ । त्यो सहयोगमा खरो उत्रने वचनवद्वता व्यक्त गर्दछु ।

Source : http://nrntoday.com/news/336/

Share On

Related News