TRUST TRUST

मतदानका लागि योग्य सबै नेपालीलाई निर्बाचनमा सहभागि हुनका लागि अपिल गर्दछु – सुनिल सह – अध्यक्ष [ गैर आवासीय संघ, अमेरिका ]

August 24, 2021

Presidential Election 2020

अमेरिकामा भैरहेको निर्बाचनमा सहभागी हुन गैर आवासीय नेपाली संघका अध्यक्ष सुनिल साहले अनुरोध गरेका छन् । आज सामाजिक संजालमा एक प्रेस बिज्ञप्ति सार्बजनिक गर्दै उनले नेपाली अमेरिकन नागरिकलाइ निर्बाचनमा भाग लिन अनुरोध गरेका हुन्।


मतदान गर्ने अन्तिम दिन नोभेम्बर ३, २०२० भएपनि अर्ली भोट गर्न पाइने प्रावधान अनुसार यति बेला अमेरिकामा मतदान प्रक्रिया अघि बढिरहेको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका का अध्यक्ष सुनिल साह द्वारा प्रेसित बिज्ञप्ति

हार्दिक अनुरोध


अमेरिकामा निर्वाचन जारी छ । मतदान गर्ने अन्तिम दिन नोभेम्बर ३, २०२० भएपनि अर्ली भोट गर्न पाइने प्रावधान अनुसार मतदान भैरहेको छ । पछिल्लो समय अमेरिकामा रहेका नेपालीहरु युएस सेन्ससमा गणित हुने क्रम पनि बढ्न पुगेको चर्चा परिचर्चा हुने गरेको छ । कति नेपाली युएस सेन्ससमा गणित भए भन्ने कुराको आधिकारिक तथ्यांक केही समयपछि जनगणना गर्ने निकायले सार्वजनिक गरेपछि थाहा हुनेछ । तर पनि पछिल्लो समय युएस सेन्ससमा नेपालीहरु गणना हुनुपर्छ भनेर भएका गतिविधि र नेपालीहरुको सक्रियत ाले धेरै नेपाली यस पटकको सेन्ससमा सहभागि हुनु भएको छ भनेर मान्न सकिन्छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले पनि सेन्ससमा नेपालीको सहभागितालाई लिएर अभियाननै चलाएको यहाँहरुमा जानकारी छ ।


यसै सन्दर्भमा, नेपालको माया, सद्भाव, चिन्ता अनि नेपालमा भैरहेका गतिविधिप्रति जसरी हामी चिन्तन गर्छौ त्यस्तै चासो र चिन्ता अमेरिकामा भैरहेका गतिविधिप्रति पनि हामीलाई हुनु जरुरी छ । अमेरिकामा रहेको हाम्रो नेपाली समुदाय फराकिलो बन्दै गएको छ । कर्मभुमीको रुपमा अमेरिकासँग सम्बन्ध जोड्न पुगेको पुस्ता मात्र होइन अमेरिकी भुमीमै जन्मिएर यही आफूलाई स्थापित गरिरहेको पुस्ताको संख्या पनि ठूलो बन्दै गइरहेको छ ।


हामीले अमेरिकी गतिविधिवाट टाढा रहेर होइन यसमा जोडिएर नेपाली समुदायलाई अझ प्रभावकारी समुदायको रुपमा चित्रित गर्न सक्नुपर्दछ । पछिल्लो समय सिटी,काउन्टी काउन्सील मेम्वर, सिटी उपमेयर देखि स्टेट डेलिगेट्स सम्म नेपाली निर्वाचित हुनुभएको अवस्था छ । विभिन्न स्थानमा नेपाली समुदाय भित्रको हाम्रा सदस्यहरु अमेरिकी राजनितिमा जोडिन पुग्नुभएको छ यसलाई सकारात्मक पाटोको रुपमा लिनुपर्दछ । त्यो यात्रामा अगाडि बढ्नुभएका सबैलाई शुभकामना पनि दिन चाहन्छु ।


र अमेरिकामा भैरहेका गतिविधिबारे चासो, चिन्ता र जानकारी हासिल गरिरहँदा हाम्रो सहभागितालाई पनि सँगै अघि बढाउनुपर्दछ । अहिले अमेरिकामा निर्वाचन जारी रहँदा म मतदानका लागि योग्य सबैलाई मतदानमा सहभागि हुनका लागि हार्दिक अपिल गर्दछु ।


एनआरएनए अमेरिकाले मतदानमा सहभागिता बढाउनका लागि विभिन्न कार्यक्रमलाई अगाडि बढाएको छ । मतदान गर्ने हक प्राप्त गर्नु अधिकार हो भने मतदान गर्नु जिम्मेवारीपन, उत्तरदायित्व अनि मतदाताको निम्ति कर्तव्य पनि हो । अझ हाम्रो समुदायको यस समग्र निर्वाचन प्रक्रियासँग जोडिएका पाटाहरुमा सहभागिताले हाम्रो समुदायको निम्ति विशेष अर्थ र महत्व बोकेको छ त्यसैले म सबै मतदानका लागि योग्य आदरणीय अमेरिकाबासी नेपाली समुदायका समस्त आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरुलाई मतदानमा सहभागि हुन अनुरोध गर्दछु ।


कोभिड–१९ महामारीको यो समयमा सुरक्षित रही आफ्नो दायित्वलाई पुरा गर्न अनुरोध गर्दछु । अहिलेको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै मतदान प्रक्रियालाई स्वास्थ्य संवेदनशिलताको हिसावले पनि धेरैं उपाय अवलम्वन गरी सुरक्षित ढंगवाट अगाडि बढाइएको पनि निवार्चन आयोगले बताउँदै आएको छ ।


अन्तमा, फेरि पनि म मतदाता सबैलाई मतदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।


धन्यवाद । जय एनआरएनए ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका

Share On

Related News